काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिएका छन् । पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताए । मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने बताए ।
निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको र प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गरिने उनको भनाइ छ । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालले बताए ।
“जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको अवस्थालाई सामान्य बनाउन र मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने कुरामा सरकार गम्भीर ढंगले लागिपरेको छ”, उनले भने । मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभूति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरूलाई निर्देशन दिए । मन्त्री अर्यालले जनताले महसुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरूलाई सचेत गराए ।


