राधेश्याम गजुरेल, मकवानपुर । बाराबाट यात्रु लिएर काठमाण्डौ तर्फ आउँदै गरेको टाटा सुमो भिमफेदी देउराली सडक खण्ड मकवानपुरमा दुर्घटनामा परेको छ । मदेश प्रदेश ०३ ००१ ज ०५२६ नम्बरको सुमो हिजो दिउँसो १:३० बजेतिर दुर्घटनामा परेको हो । दुई दिनको अबिरल वर्षा पछि हेटौडाबाट फाखेल हुँदै काठमाण्डौ आउने एकमात्र बाटो खुलेपछि निकै जाम बढेको थियो ।
ब्यस्त सडक खण्डको उकालोको बिच बाटोमै सुमो पल्टिएको हो ।

दुर्घटनामा घाईते ७ जनालाई एम्बुलेन्समा राखि हेटौडा अस्पतालमा उपचारार्थ लगिएको भिमफेदी प्रहरी कार्यलयले जनाएको छ । साँघुरो सडकका कारण दुवैतर्फ लामो जाम भएकाले घाईतेको उद्वारमा कठिनाई भएको थियो । देशै भरमा राजमार्ग अबरुद्व हुँदा सो सडक खण्डबाट आवत जावत गर्ने यात्रुहरु दिनभर जसो अलपत्र परेका थिए । सवारीको अत्याधिक चाप बढेपछि भैसे क्षेत्रबाट धेरै सवारी त्रिभुवन राजपथ तर्फ मोडिएको थियो ।

उकालो बाटोमा जाम बढेपछि सयौ सवारीको क्लच प्लेटमा असर परेको थियो भने बाटो बाटोमा इन्जिन सेलाउन भन्दै साना गाडीहरु साईड लागेका थिए । स परिवार रौतहटदेखि काठमाण्डौ यात्रारत विश्व सापकोटाले आफ्नो बाईक चरिखेत उकालोमा बिग्रेपछि १ घण्टा हिडेर भिमफेदीबाट सामान र मिस्त्री लगेर बाईक बनाउन लागेको बताए । गाईघाटदेखि हेटोडा हुँदै काठमाण्डौ आईपुग्न अफूलाई १४ घण्टा समय लागेको रमेश दहालले बताए ।

चितवनका सुनिल लामिछोले उकालो साँघुरो बाटोमा बच्चा सहितको यात्रा कठिनाईपूर्ण र जोखिमको रहेको बताएका छन् । दशैमा टीका लगाउन गएका लाखौ यात्रुहरु दुई दिनदेखि रोकिई एकैपटक काठमाण्डौ छिर्दै गर्दा सवारी चाप बढेको हो ।


