सेवापाटी संवाददाता २०८२ श्रावण २७ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – राष्ट्रिय गुप्तचरसम्बन्धी विधेयक ल्याएर नागरिकका फोनकल, म्यासेज, भिडियोलगायत सामग्री निगरानी, अनुगमन र ट्यापिङ गर्न सक्ने व्यवस्था सहितको कानुन बनाउन लागिएको छ । नागरिकका संविधानप्रदत्त वैयक्तिक गोपनीयता हनन हुने गरी सरकारले गुप्तचरीसम्बन्धी कानुन ल्याउन खोजेको  हो।

संविधानको धारा २८ ले व्यक्तिको गोपनीयताको हक सुनिश्चित गरेको भएपनि यस विधेयकलाई छिट्टै संसद्मा दर्ता गर्ने सरकारको तयारी छ । कांग्रेस–एमाले गठबन्धनमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले गुप्तचर हाकिममार्फत नागरिकका व्यक्तिगत संवाद सुन्ने र रेकर्ड गर्ने गरी कानुन ल्याउन लागेको हो ।

विगतमा पनि यस्तै स्वेच्छाचारी कानुन बनाउन पटक–पटक प्रयास भएका थिए । संविधान तथा कानुनसम्बन्धी जानकारका अनुसार सरकारको प्रस्ताव जस्ताको तस्तै पारित भए नागरिकका वैयक्तिक र संविधानमा सुनिश्चित गरिएका हकमाथि सरकारले जुनसुकै बेला रेकर्ड गरेर दुरुपयोग गर्न सक्नेछ । सरकारको आलोचना गर्नेलाई ‘तह लगाउने औजार’ का रूपमा दुरुपयोग हुने जोखिमसमेत रहेको उनीहरूको टिप्पणी छ ।