काठमाडौं — भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर मनाउँदैछन्। देवकार्य तथा पितृकार्यमा वर्षभरि प्रयोग गरिने कुशलाई धार्मिक रूपमा पवित्र मानिन्छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणले पूजा गरी उखेलेर जजमानको घरमा पुर्याएको कुश राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आज ल्याइएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने परम्परा रहेको छ।
कुशे औँसीकै अवसरमा नेपालमा पत्रकारिताको सुरुआत गर्ने व्यक्तित्व तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती पनि विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टले विशेषगरी शृङ्गार रसको विकासमा उल्लेखनीय योगदान पुर्याएका थिए।
भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याएका थिए। यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको मानिन्छ।
कुशे औँसीलाई बाबुको मुख हेर्ने दिनका रूपमा समेत मनाउने गरिन्छ। छोराछोरीले परम्पराअनुसार आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन्।
बाबु नहुनेहरूले भने विभिन्न पवित्र स्थानमा पुगेर दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ।
यस अवसरमा काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ। उत्तरगयाका रूपमा समेत चिनिने गोकर्ण क्षेत्रमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने श्रद्धालुको घुइँचो लाग्ने गर्दछ।
मेलाका लागि आवश्यक सबै तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष तथा मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।


