सेवापाटी संवाददाता २०८२ श्रावण २१ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – सीएनबीसी न्यूज च्यानलसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई धेरै उच्च कर लगाउने देशको रूपमा वर्णन गरे। ट्रम्पले आगामी २४ घण्टामा भारतमाथिको करमा उल्लेखनीय वृद्धि गर्ने बताएका छन्। उनले भने, ‘भारत राम्रो व्यापार साझेदार होइन। त्यसैले हामी उसँग धेरै व्यापार गर्दैनौँ। हामीले उसमाथि २५ प्रतिशत कर लगाउने निर्णय गरेका थियौँ।

तर आगामी २४ घण्टामा हामी उसमाथि धेरै उच्च कर लगाउनेछौँ।’ ट्रम्पले भन्सार शुल्क बढाउनेबारे कुरा गरेका छन्। तर कति प्रतिशतले भन्सार वृद्धि गरिनेछ भन्ने कुरा भनेका छैनन्। यस अघि ट्रम्पले भारतमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए। भारतले भने ट्रम्पको आलोचनालाई अस्वीकार गर्दै अमेरिका र युरोपेली संघ आफैँले रुससँग व्यापार जारी राखेको बताएको छ। भारतको विदेश मन्त्रालयले आफ्नो विज्ञप्ति मार्फत ट्रम्पको आलोचनालाई अस्वीकार गरेको हो ।