काठमाडौँ । जेनजी पुस्ताको नेतृत्वमा गत भदौ २३ र २४ गते भएको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ ।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज ‘जेनजी शहीद दिवस’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी शहीद दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन केही समयमै भ्रष्टाचार, राजनीतिक बेथिति, बेरोजगारी, अवसरको अभाव र राज्यको जवाफदेहिताविरुद्धको व्यापक आक्रोशमा परिणत भएको थियो ।
आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा कुल ७६ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ । सरकारले शहीद परिवारलाई आर्थिक सहयोग तथा रोजगारी उपलब्ध गराएको जनाएको छ ।


