कोरोना महामारीबाट प्रभावित कतिपय व्यवसाय लयमा फर्किसके पनि हस्तकला व्यवसायको अवस्था पहिलेजस्तो हुन नसकेको पाइएको छ । कोरोना संकट शुरू हुनुअघिको आर्थिक वर्ष (आव) २०७५/७६ मा ५ अर्ब ३७ करोडभन्दा बढी पुगेको हस्तकला निकासी गत आवमा झन्डै १ अर्ब रुपैयाँले खस्किएको देखिन्छ । आव २०७८/७९ मा ४ अर्ब ४० करोड रुपैयाँभन्दा केही बढीको हस्तकला सामान निकासी भएको तथ्यांक छ ।

कोरोना संकटले विश्वका प्राय: मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो स्थितिमा पुर्‍याएकाले निर्यातमा प्रतिकूल असर परेको सम्बद्ध व्यवसायी बताउँछन् । नेपाल हस्तकला महांसघका अनुसार कोरोनापछि निर्यातमा सुधार आइरहे पनि त्यसको गति निकै मन्द छ ।

नेपालबाट हस्तकलाका सामान मुख्यतया अमेरिका, चीन, अस्ट्रेलिया, बेलायत, क्यानडा, भारत, जर्मनी, नेदरल्यान्ड, जापान, सिंगापुरलगायत मुलुकमा निर्यात हुने गर्छ । यसमा पनि गैरकपडाबाट उत्पादित हस्तकलाका सामानको प्रमुख बजार चीन हो ।

‘चीनको बजार राम्ररी खुलेको छैन । बाँकी बजार पनि सुस्त छ । त्यसैले निर्यात बढ्न नस्केको हो,’ महासंघका उपाध्यक्ष नवीन शाक्यले भने । उनका अनुसार सरकारी नीतिले पनि निर्यातमा अवरोधको काम गरेको छ । सरकारले हस्तकलाका उत्पादनलाई निर्यात हुने अन्य सामग्रीभन्दा फरक र विशेष खालको छूट वा सहुलियत दिने नीति ल्याउनुपर्ने उपाध्यक्ष शाक्यको भनाइ छ ।

व्यवसायीहरू हस्तकलाका लागि आवश्यक कच्चा पदार्थ उपलब्धताको पनि समस्या हुने गुनासो गर्छन् । नेपालभित्र पाइनुपर्ने ढुंगा, माटो, काठलगायत कच्चा पदार्थ प्राप्तिमा समेत अनेक झन्झट बेहोर्नुपरेको उनीहरूको गुनासो छ । महासंघका अर्का उपाध्यक्ष किरण स्थापित हस्तकलाका सामग्री तयार गर्ने ढुंगा र काठ नै नेपालमा नपाएर विदेशबाट ल्याउनुपरेको गुनासो गर्छन् । ‘माटो पनि भनेको ठाँउमा पाइँदैन,’ उनले भने ।

हस्तकला व्यवसायमा आबद्ध व्यवसायीहरू यस क्षेत्रमा दक्ष कालिगढको समस्याका कारण ग्राहकले खोजेजस्तो उत्पादन पर्याप्त मात्रामा दिन नसकिएको बताउँछन् । ठूलो सम्भावना भएको यस क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा सरकारले लगानी बढाउनुपर्ने व्यवसायीको सुझाव छ ।

सरकारी अधिकारीहरू भने तालीम दिने कुरामा राज्यबाट कमीकमजोरी नभएको तर्क गर्छन् । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत विष्णुप्रसाद भुसालले सरकारबाट हस्तकला व्यवसायी र कालिगढका लागि छुट्टाछुट्टै किसिमका तालीम सञ्चालन गर्ने गरेको बताए । ‘तालीम दिने विषयमा सरकारबाट कमी भएको छैन,’ कार्यकारी अधिकृत भुसालले भने, ‘चालू आव २०७९/८० मा मात्रै १२ हजार २ सय जनालाई तालीम प्रदान गर्दै छौं ।’ सरकारले हस्तकला व्यवसायीलाई सहुलियतपूर्ण ऋणको पनि व्यवस्था गरेको कार्यकारी अधिकृत भुसालको भनाइ छ ।

‘अहिले देखिएको आर्थिक असहजताले ऋण लिने कुरामा केही समस्या आएको हुन सक्छ तर अर्थतन्त्रको अवस्था सहज भएसँगै सबै कुरा समाधान भएर जान्छ,’ उनले आर्थिक अभियानसँग भने ।

नेपालमा भएका कच्चा पदार्थको उपलब्धतामा खासै समस्या नरहेको पनि भुसालको दाबी छ । उनले केन्द्रमा कोही व्यवसायी यस्ता समस्या बोकेर आए केन्द्रले समन्वय गर्ने गरेको पनि बताए ।

जानकारहरूका अनुसार हस्तकला व्यवसाय नेपालमा ठूलो सम्भावना बोकेको क्षेत्र हो । महासंघका अनुसार १० लाखजति मानिस हस्तकला क्षेत्रमा संलग्न छन् । यो व्यवसायले थोरै मात्रामा भए पनि मुलुकको अन्तरराष्ट्रिय व्यापारघाटा न्यूनीकरणमा योगदान गरिरहेको छ ।

Source :Abhiyan