
हस्तकलाको प्रवद्र्धनका लागि ललितपुरको पाटन ढोकामा कोशेली घर स्थापना हुने भएको छ । ललितपुर हस्तकला संघसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले आगामी माघ पहिलो सातादेखि कोशेली घर सञ्चालनमा ल्याउने भएको हो । बुधबार राजधानीमा आयोजित नेपाल हस्तकला महासंघको स्वर्ण वर्ष समापन तथा ११औँ हस्तकला दिवस शुभारम्भ कार्यक्रम उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त कुरा बताउनुभएको हो । कोशेली घरमा ललितपुर क्षेत्रको हस्तकलामात्रै राखिनेछन् ।
हस्तकला नगरी ललितपुरको पर्यटन प्रवद्र्धन र पर्यटकको बसाइ लम्ब्याउन हस्तकला कोशेली घरका साथै महानगरपालिकाले विद्युतीय बस पनि सञ्चालनमा ल्याउने भएको छ । पर्यटकलाई विद्युतीय बसमा ललितपुरका विभिन्न सम्पदास्थलमा घुमाइने मेयर महर्जनले बताउनुभयो । उक्त प्रयोजनका लागि सुरुमा चारवटा बस आउने क्रममा रहेका र आवश्यक परीक्षणपछि अन्य बस पनि थप्दै लगिने उहाँको भनाइ थियो ।
मेयर महर्जनले ललितपुर र हस्तकला पर्यायवाची रहेको भन्दै ललितपुर महानगरपालिका विश्वको ३५औँ हस्तकला शहर घोषणा हुनु गर्वको विषय भएको बताउनुभयो । महानगरलाई विश्व शिल्प परिषद्ले हस्तकला शहर भनेर सदस्यता प्रदान गरेको छ । सदस्यता प्राप्तिपछि हस्तकलामा राम्रो काम गर्ने सोच राखेको तर सदस्यता प्राप्तिपछि कोरोनाका कारण राम्रो काम गर्न नसकिएको उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाललाई हरेक देशमा चिनाउने हस्तकला क्षेत्र भएकाले हस्तकलाप्रति मुलुकले गर्व गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय हस्तकला व्यवसायलगायत औद्योगिक व्यावसायिक क्षेत्रमा देखिएको समस्या सम्बोधनका लागि महासंघले पहल गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले ललितपुर हस्तकलाको राजधानी भएकाले मौलिकतालाई बचाइराख्नुपर्ने बताउनुभयो भने नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले विद्यमान संकटका कारण साना मझौला उद्योगमा बढी समस्या रहेको आफूहरूको अध्ययनले देखाएको उल्लेख गर्दै निर्यातजन्य क्षेत्र हस्तकलाको महत्व विशिष्ट भएकाले सो क्षेत्रको समस्या छिटो सम्बोधनमा जोड दिनुभयो ।
महासंघ अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला ग्राम चाँडै सञ्चालनमा ल्याउनुपर्ने, हस्तकला क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने तथा निकासी वृद्धि र आन्तरिक खपतमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । हस्तकला क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि महासंघले हस्तकला नीतिको माग गर्दै आए पनि सरकारले चासो नदिएको उहाँको भनाइ थियो ।
महासंघले २०७५ सालमै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हस्तकला नीतिको मस्यौदा बुझाएको भए पनि मन्त्रालयबाट थप प्रक्रिया अघि बढ्न नसकेको उहाँले गुनासो गर्नुभयो । सो अवसरमा महासंघका पूर्व-अध्यक्षहरू, निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण व्यवसायी महासंघलगायतलाई सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै, महासंघले कार्यरत कर्मचारीहरू निर्देशक ऋषिराज सुवेदी, उपनिर्देशक संगीता शाक्यलगायत सबै कर्मचारीलाई सम्मान गरेको छ । महासंघले २०७८ मंसिर २८ गतेदेखि महासंघ स्वर्ण वर्षमा प्रवेश गरेको अवसरमा एक वर्षसम्म विभिन्न कार्यक्रम गरी स्वर्ण वर्ष मनाएको छ ।Source : Ehimalaya Times