मङ्सिर अन्तिम साता १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता हुने भएको छ। हस्तकला सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, प्रचारप्रसार तथा निर्यात व्यापार बढाउने उद्देश्यसहित सो मेला आयोजना हुन लागेको हो।

नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँको होटल हायात रिजेन्सीमा सो मेला आयोजना हुन लागेको हो। मेला संयोजक किरण डङ्गोलले एकै स्थलमा सबै प्रकारका हस्तकलाका सामान उपलब्ध गराई उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गरी बजारीकरणमा सहयोग पु-याउन मेला आयोजना गरिएको जानकारी दिनुभयो। मेलाबाट विदेशमा चलिरहेको रङ संयोजन, डिजाइन, वस्तु विकास, प्रविधिबारेमा नेपाली उद्यमी, व्यवसायी र कलाकारले जानकारी प्राप्त गर्न सक्ने बताइएको छ।

मेलामा परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी गर्ने, मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तुहरूको प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, कला प्रदर्शनी, ज्येष्ठ वरिष्ठ कलाकारलाई सम्मान, निर्यातकर्तालाई सम्मान गरिनेछ।

पाँच दिनसम्म सञ्चालन हुने मेलामा सातै प्रदेशका उद्यमीको सहभागिता रहनेछ। मेलामा १५० वटा स्टल राखिएको छ।

मुलुकको प्रमुख निर्यातयोग्य उद्योगका रूपमा रहेको हस्तकला व्यवसायबाट निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। स्थानीय कच्चा पदार्थ प्रयोग गरी हस्तकलाका सामान निर्माण हुने गर्छ।    Source: Gorkhpatra