पोखरा । फेवातालमा अचानक आएको हावाहुरी र उच्च छालका कारण कायक बोट पल्टिँदा अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
बुधबार तनहुँको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्दै आएका २८ वर्षीय सुबिन ठकुरीले चलाएको एकल कायक बोट अचानक पल्टिएको थियो।
घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको उद्धार टोलीले तत्कालै उनलाई सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।
हावाहुरी र तालमा अचानक आउने छालका कारण जोखिम बढ्ने भएकाले यस्ता समयमा जलयात्रा गर्दा विशेष सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ।


