काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकालपछि पूजा गरी समाप्त गरिँदै छ ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।  त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एक महिने व्रत बसेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रत सफल होस् भनी भगवतीलाई अघ्र्य दिने परम्परा छ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ वटा प्रसाद पति, पति नभए छोरा र छोरा पनि नभए मित छोरालाई दिने तथा केही नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बहाउने विधि रहेको छ। बर्तालुले सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने परम्परा पनि छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।

आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल धर्मशास्त्रीहरु बताउछन् ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ।  यहाँ करिब दुई सय महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन्।  आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।

साँखुको शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ। यस व्रतमा करिब १६२ महिला र १५ पुरुष सहभागी छन्। आजको दिनलाई नेवार समुदायले ‘सि पुन्हि’का रूपमा पनि मनाउने गर्दछन्।