
सेवापाटी संवाददाता २०८२ भदौ २३ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – नेपाल उखु उत्पादक महासंघको केन्द्रीय कार्यालय सर्लाही हरिवनमा शनिबार बसेको उखु किसानहरुको बैठकले सरकारले गरेको निर्णयलाई अस्विकार गर्दै सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान नदिए आन्दोलन नरोक्ने निर्णय गरेको छ। सरकारले बजेट अभाव देखाउँदै प्रतिक्विन्टल ३५ रुपैयाँको दरले अनुदान दिने यसअघि निर्णय गरेको थियो।
किसानहरू भदौ २५ देखि पूर्व—पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा राजमार्ग जाम पारेर आन्दोलन चर्काउने निर्णयमा पुगेका छन्। भदौ २५ गते १ घण्टा, भदौ २६ गते २ घण्टा र माग सम्बोधन नभए २७ गतेबाट अनिश्चितकालीन राजमार्ग बन्द गर्ने निर्णय भएको केन्द्रीय उखु संघर्ष समितिका अध्यक्ष श्यामबाबु रायले बताए। उनले भने, ‘माग सम्बोधन नभए दैनिक एक घण्टाको दरले आन्दोलनको समय बढाउँदै लान्छौं।
यतिले पनि सरकारले सुनुवाइ नगरे अनिश्चितकालीन राजमार्ग बन्द गर्ने निर्णयमा पुग्ने छौं। ’भदौ ८ देखि १४ सम्म किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन चलाएका थिए। माइतीघर मण्डलामा धर्ना बस्दै संसद् भवन घेराउसमेत गरेका थिए। तर, माग पूरा गर्न सरकार तयार नभपछि उनीहरू राजमार्ग केन्द्रित आन्दोलनको चेतावनी दिएर जिल्ला फर्किएका थिए।
अब आन्दोलन गर्न सरकारले नै बाध्य पारेको केन्द्रीय उखु संघर्ष समितिका सहसंयोजक राजकुमार उप्रेतीले बताए। उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा भन्छन् अनुदान कटौतीको निर्णय सरकारले फिर्ता लिनै पर्छ। उनले भने, ‘एक त उद्योगी र सरकार मिलेर उखुको मूल्य तोक्छ। त्यसमा पनि हामी मारमा पर्दै आएका छौं। सरकारबाट पाउनुपर्ने अनुदान पनि कटौती हुन्छ भने त्यो त अन्याय नै भयो।’