काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकको ऐतिहासिक योगदान, वर्तमान चुनौती तथा आगामी दिनमा बैंकिङ क्षेत्रले अवलम्बन गर्नुपर्ने सुधारका विषयमा चर्चा गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल बैंकको स्थापना आर्थिक उन्नति, जनतालाई वित्तीय सुविधा उपलब्ध गराउने र मुलुकको विकासमा योगदान पुर्याउने उद्देश्यले भएको उल्लेख गरे ।
उनले बैंकले आगामी दिनमा तीनवटा प्रमुख सुधारका एजेन्डालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र प्रविधिमैत्री बैंकिङ सेवा विस्तारलाई उनले मुख्य सुधारका क्षेत्रका रूपमा औँल्याए ।
उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सफलता निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकारबाट मात्र नभई राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा पुर्याएको योगदानका आधारमा मापन हुनुपर्ने बताए ।
‘कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनु अनिवार्य छ । कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ,’ उनले भने ।
त्यस्तै, बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती समाधान गर्न कर्जा असुली प्रक्रिया, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।
संस्थागत सुशासन र वित्तीय अनुशासन कायम गर्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारी स्वामित्वको बैंकका रूपमा नेपाल बैंकले सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्ने बताए ।
बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि उनले जोड दिए । डिजिटल बैंकिङको विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्ने उनले बताए ।
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले नेपाल बैंक आगामी दिनमा थप सबल बन्दै नेपालको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्न सकोस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
