काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले विना कसुर र विना अभियोग पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले लोकतान्त्रिक व्यवस्थामा कोही पनि कानुनभन्दा माथि नहुने उल्लेख गर्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
सरकारले पूर्वाग्रह, प्रतिशोध वा विरोध गरेको आधारमा व्यक्तिलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको आरोप लगाउँदै उनले यस्तो प्रवृत्ति कानुनी राज्य र विधिको शासनको बर्खिलाप भएको बताए ।
उनले भने, ‘सरकारले पूर्वाग्रह, प्रतिशोध तथा विरोध गरेका आधारमा व्यक्तिहरूलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको छ। यस्तो कार्य कानुनी राज्य र विधिको शासनको बर्खिलाप छ।’
महरले सरकार गठन भएयता यस्ता गतिविधि शृङ्खलाबद्ध रूपमा भइरहेको आरोप लगाए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटनाको समेत स्मरण गरे ।
खतरा रहेको भनिएका व्यक्तिलाई सुरक्षा दिनुको सट्टा पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको भन्दै उनले सरकारको कदमप्रति आपत्ति जनाए ।
जबराको पक्राउलाई लिएर उनले सरकारको कार्यशैलीलाई ‘राज्य आतंक, गुन्डागर्दी, निरंकुशता र स्वेच्छाचारिता’को नमुनाका रूपमा चित्रण गर्दै त्यस्ता गतिविधिको भत्र्सना गरे ।

