काठमाडौं । अविरल वर्षासँगै म्याग्दी जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा पहिरोमा पुरिएका ६ जनाको शव फेला पारिएको हो ।
मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–८ की १९ वर्षीया सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुन रहेका छन् ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी ५ वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ फगामकी ७५ वर्षीया शिलकुमारी गर्बुजाको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी उमेर नखुलेकी कुमारी विक रहेका छन् ।
पहिरो प्रभावित क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरी थप खोजी, उद्धार तथा राहत वितरणको काम जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डका विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि दुवै सडकखण्डमा यातायात आवागमन ठप्प भएको र सडक खुलाउन आवश्यक प्रयास भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिएका छन् ।


