काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ। सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी बग्न थालेपछि फोहोर ढुवानी तथा बिसर्जनमा अवरोध आएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

ल्याण्डफिल्ड साइटको अवस्था प्रतिकूल रहेकाले केही समय फोहोर बिसर्जन प्रभावित हुने महानगरपालिकाले जनाएको छ। त्यसैले महानगरले घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर तत्काल बाहिर ननिकाल्न नगरवासीलाई आग्रह गरेको छ।

महानगरपालिकाले फोहोर व्यवस्थापनमा समस्या देखिएको अवस्थामा सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला तथा खुला स्थानमा जथाभावी फोहोर नफाल्न पनि अनुरोध गरेको छ।

वर्षा कम भई सिसडोलस्थित ल्याण्डफिल्ड साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानीको काम नियमित गरिने महानगरले जनाएको छ।

फोहोरमैला व्यवस्थापनमा असहज अवस्था सिर्जना भएकाले केही समय धैर्य गर्न तथा सार्वजनिक स्थानमा फोहोर नथुपार्न महानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।