काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गरेसँगै कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भेला जारी छ । भेलामा देउवा र कोइराला पक्षका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।
प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार आज उद्घाटन सत्र हुने तथा भोलि र पर्सि बन्दसत्र सञ्चालन हुनेछ ।
बन्दसत्रमा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् । पूर्वप्रवक्ता प्रकाशशरण महतले आर्थिक नीतिसम्बन्धी, पूर्वसहमहामन्त्री उमाकान्त चौधरीले संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै, समसामयिक राजनीतिक विषयसँग सम्बन्धित प्रस्ताव नेता एनपी साउद, विधान संशोधनसम्बन्धी प्रस्ताव नेता रमेश लेखक र प्रचार–प्रसारसम्बन्धी प्रस्ताव मीन विश्वकर्माले प्रस्तुत गर्ने बताइएको छ ।
निवर्तमान सभापति देउवा बिहीबार मात्रै काठमाडौं आइपुगेका हुन् । गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका लागि सिंगापुर गएका थिए ।


