काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न उठाउँदै सांसद संख्या गणना गर्न आग्रह गरेका थिए । त्यसपछि तीन मिनेटसम्म बैठक कक्षमा घण्टी बजाइएको थियो ।
तर, गणपूरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । सभामुख अर्यालका अनुसार बैठक सञ्चालनका लागि आवश्यक ६९ जना सांसद उपस्थित हुनुपर्नेमा ६१ जना मात्रै उपस्थित थिए ।
बुधबारको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । गणपूरक संख्या पुगेको भए उक्त प्रस्तावमाथि सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्न पाउने प्रक्रिया सुरु हुने थियो ।


