काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल एन्टिस्नेक भेनम सिरम बिहीबार साँझ ५ बजे केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको हो।

त्यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन पनि स्टोरमा आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त सामग्री सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक औषधि तथा इम्युनोग्लोबुलिन पर्याप्त मात्रामा प्राप्त भएसँगै देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ।