काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय योजना आयोगको कार्यसम्पादन, विभिन्न विधेयक, मानव अधिकारको अवस्था तथा स्थलगत अनुगमन प्रतिवेदनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ८:३० बजे बस्नेछ। बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा भएका प्रमुख कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको प्रगति तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको कार्यप्रगतिको विषयमा छलफल गरिने समितिले जनाएको छ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ। छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषयविज्ञ डा. गोपालकुमार चौधरी सहभागी हुने कार्यसूची रहेको छ।
त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थाबारे निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ।
उता, राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनसम्बन्धी प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।


