काठमाडौं| सामाजिक सञ्जालमा दिएको विवादास्पद अभिव्यक्तिका कारण राष्ट्रिय टोलीका फास्ट बलर करण केसी कारबाहीमा परेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले उनलाई कारबाही गरेको हो ।केसीलाई कारबाहीस्वरुप एक खेलमा प्रतिबन्ध लगाउने र खेलको फि पनि नदिने निर्णय भएको हो ।विभागीय टिम नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणलाई क्यानले आइतबार (चैत २९) एक खेलका निम्ति प्रतिबन्ध लगाएको हो ।
शनिबार (चैत २८) करणले सामाजिक सञ्जालमा यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला ? भनेर सामाजिक सञ्जाल ‘एक्स’मा कमेन्ट गरेका थिए । आइतबार संघले उनको यही कमेन्टप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही गरेको हो ।
उनले उक्त अभिव्यक्तिलाई ‘मजाकका रूपमा राखिएको जिज्ञासा’ भएको उल्लेख गर्दै त्यसबाट कसैलाई चोट पुगेको भए माफी मागेका छन् । तर अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकले भने यो विषय गम्भीर भएकाले क्षमायाचनाले मात्र नपुग्ने धारणा राखेका छन् ।करणले माफी मागे पनि क्यानले कारबाहीको निर्णय लिएको हो ।


