काठमाडौं | निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदै छ ।
नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्ण रूपमा आचारसंहिता लाग्छ । यस्तै, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार झण्डा वा चुनाव चिह्न बोकाउने, र्याली, सांस्कृतिक कार्यक्रम तथा दल-विशेषको समर्थन वा विरोधमा बालबालिकालाई सहभागी गराउने, विद्यालय समयमा विद्यालय नजिक चुनावी कार्यक्रम आयोजना गरी अध्ययनमा अवरोध पुर्याउने विषयमा उजुरी प्राप्त भएका छन् ।
त्यस्तै शिक्षा ऐन, २०२८ अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा संलग्न पाइए पदबाट हटाउन सकिने व्यवस्था पनि रहेको आयोगले स्मरण गराएको छ । आचारसंहिता उल्लङ्घन गरेमा दफा ४८ बमोजिम कारबाही हुने चेतावनी दिँदै आयोगले जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यालयहरूलाई प्रभावकारी अनुगमन गर्न अनुरोध गरेको छ ।
संवैधानिक निकाय, सो निकायका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, एवं कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्ति अनुमगन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई निर्वाचन आचारसंहिता लाग्छ ।
यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पनि आचारसंहिता लाग्छ ।
स्थानीय कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा सहभागी भएको पाइएपछि आयोगले आइतबार आचारसंहिता स्मरण गराएको थियो । सोमबार पुनः सरकारी वा निजीक्षेत्रमा पूर्ण रूपमा आचारसंहिता लाग्ने स्मरण गराएको हो ।


