काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटनाग्रस्त हुँदा चालकदलसहित विमानमा सवार पाँचै जनाको मृत्यु भएको हो ।
पुणेको बारामतिमा बुधबार बिहान उनी सवार विमान दुर्घटना भएको थियो। दुर्घटनामा परी उनको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।मुम्बईबाट बारामती जाद्यै गरेको चार्टर्ड विमान बारामती विमानस्थलको रनवे थ्रेसहोल्ड नजिक क्र्यास–ल्याण्डिङ भएको बताइएको छ। दुर्घटनामा अजित पवारसँगै विमानमा एक पीएसओ, एक परिचारक तथा दुई जना चालकदल सदस्य सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
पवारको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘जनताका नेता अजितको जनस्तरमा बलियो सम्बन्ध थियो। महाराष्ट्रका जनताको सेवामा अग्रपंक्तिमा रहने एक कर्मठ व्यक्तित्वको रूपमा उहाँले व्यापक सम्मान प्राप्त गर्नुभएको थियो। प्रशासनिक मामिलामा उहाँको बुझाइ र गरिब तथा वञ्चित वर्गलाई सशक्त बनाउने भावना पनि उल्लेखनीय थियो। उहाँको असामयिक निधन अत्यन्तै स्तब्ध पार्ने र दुःखद छ। उहाँको परिवार र शुभचिन्तकहरूप्रति मेरो समवेदना।’
अजित पवार बारामती विधानसभा क्षेत्रबाट सात पटक महाराष्ट्र विधानसभामा निर्वाचित भएका थिए । उनले १९९१ को उपनिर्वाचन, त्यसपछि १९९५, १९९९, २००४, २००९ र २०१४ मा लगातार विजय हासिल गरेका थिए । नोभेम्बर २०१९ मा उनले एनसीपीमा विभाजन गराउँदै भारतीय जनता पार्टी नेतृत्वको सरकारमा सहभागी भई उपमुख्यमन्त्री बनेका थिए । सन् २०२४ को फेब्रुअरीमा निर्वाचन आयोगले अजित पवार नेतृत्वको समूहलाई पार्टीको नाम र चुनाव चिन्ह प्रदान गरेको थियो । एएनआई


