काठमाडौं।रोल्पामा जीप दुर्घटनामा हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ।दुर्घटनामा ९ जना घाइते भएका छन्।उक्त दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।

सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गए राति १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक थापाले बताए।

गम्भीर घाइतेमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पुर्‍याउँदा चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए।
घाइते ९ जनाको रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलका लागि रिफर गरिएको छ।