काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् ।‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने, कुनै खालको लिखित मौखिक आदेश दिएको छैन । दिनुपर्ने कारण छैन । दिनुपर्ने कानुनी व्यवस्था छैन ।’
आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका छन् ।सोमबार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै उनले २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका हुन् ।
‘गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको नाताले त्यस दुःखद् घटनाबाट म अत्यन्त मर्माहत भएँ । ठूलो पीडाबोध भएकाले देशको गृहमन्त्रीको पदमा रहेको व्यक्तिले पदीय नैतिक जिम्मेवारी बोक्नु पर्दछ भन्ने दृढ संकल्पका साथ नैतिकताका आधारमा तत्काल घटनाको नैतिक जिम्मेवारी लिइ राजीनामा गरेको हुँ । म अहिले पनि भन्छु( भाद्र २३ को घटना हुँदा म देशको गृहमन्त्री थिएँ, मैले गृहमन्त्रीका हैसियतले काम गर्दा सदैव नेपालको संविधान, प्रचलित अन्य कानून, गृह मन्त्रालयको जिम्मेवारीसँग सम्बन्धित सरकारका नीतिभित्र रहेर असल मनशायका साथ काम गरेको छु र यी सबै विषयका साथै मेरो व्यक्तिगत र पदीय नैतिक जिम्मेवारीलाई कहिल्यै बिर्सिएको छैन,’ लेखकले बयानमा भनेका छन् ।तर आफ्नो राजीनामापछि भदौ २४ गते भएका हिंसात्मक घटना राष्ट्रिय अस्तित्व,स्वाभिमान र लोकतन्त्रविरुद्ध भएको र कुनै पनि देशभक्त नेपालीले कल्पना गर्नै नसक्ने कुरा भएको उनको भनाइ छ ।
बयानमा उनले अगाडि भनेका छन् -‘राष्ट्रका प्रमुख निकायहरु सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्तिनँ । लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तका प्रतिनिधि संस्थामाथिको आक्रमण जेन–जी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय हो भन्ने म ठान्दछु । यो नियोजित षडयन्त्र नै थियो । यो राष्ट्र र लोकतन्त्रमाथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ’ ।


