काठमाडौं| आगामी फागुन २१ को आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय आइतबारदेखि सुरू भएको छ।
निर्वाचन तालिका अनुसार समानुपातिकको सूची बुझाउन आयोगले पुस १३ र १४ गते दुई दिन अपरान्ह ४ बजेसम्मको समय तोकेको हो । आयोगले कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जानकारी गराएको छ ।
आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गरिनेछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्न अनुरोध गरेको छ ।
सयवटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्पको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।


