काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए । जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ ।

नख्खु कारागारबाट धरौटीमा रिहाइ भएपछि आइतबार पहिलो पटक केन्द्रीय कार्यालय वनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै उनले जेनजीको विद्रोहलाई रास्वपाले नै क्रान्तिमा बदल्ने जिकिर गरे ।

‘विद्रोह भएको छ, त्यसलाई क्रान्तिमा बदल्न बाँकी छ । सिंहदरबार त बनाउँला तर त्यसलाई बदल्नुछ । जेनजीको विद्रोहलाई हामीले रूपान्तरण गर्न बाँकी छ’, उनले भने ।लामिछानेले चुनावमा जानुको विकल्प नरहेको बताउदै रास्वपाले चुनावको वातावरण बनाउन सहयोग गर्ने बताए । उनले जेनजी आन्दोलनलाई दमन गरेकाहरु अहिले सल्बलाएकोभन्दै चुनावमा गएर जनताको मत जित्न चुनौती दिएका छन् ।

उनले भने, ‘म माथि अन्यायका श्रीखंलाहरु बाँकी नै छन् । तर मलाई विश्वास छ, आजसम्म सत्य हारेको छैन् । त्यसकारण अब पनि हार्दैन् भन्ने कुरामा विश्वास छ । त्यो विश्वासले जिल्लैपिछे मुद्दा लगाउँदा पनि छाडेको छैन्, कारागारमा लैजाँदा पनि छाडेको छैन् । यही एउटा विश्वास छ । मसँग बाँकी रहेको एक मुठ्ठी सास र सत्यको साहस मात्रै हो । अरु मसँग केही पनि बाँकी छैन् । तर सत्यको साथ र साहस भयो भने बाँकी केही कुरा चाहिदो रहेनछ ।’
उनले चौतर्फि हमलाको बीचमा पनि पार्टीलाई अगाडि बढाउनको लागि काम गरेका सबैलाई धन्यवाद पनि दिएका छन् ।