काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीको महाधिवेशनमा पराजित भए पनि आफूहरू सधैँ एमाले भएर रहिरहने बताएका छन् । पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका पोखरेलले प्रतिष्पर्धामा जानेहरूले पराजयलाई पनि स्वीकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने बताए । बुधबार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाटमा पोखरेलले आफूहरूले पराजय भोग्नुपरे पनि माधव नेपाल, भीम रावलहरूको जस्तो नयाँ छुट्टै पार्टी खोलेर नजाने बताए ।
महाधिवेशनमा आफूहरू विजय हुने विश्वास व्यक्त गर्दै पराजय भए पनि एमाले नै भएर काम गर्ने उनको भनाइ छ ।‘प्रतिष्पर्धा गर्न तत्पर हुने तर प्रतिष्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने । यो राजनीतिक संस्कारका रहेको कमजोरी हो ,एउटा दृष्टान्त बनेको छ भीम रावलजी र माधव नेपालजीको कुरा । त्यस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन ।’ पोखरेलले भने ।पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीप्रति आफूहरूको प्रश्न रहेको बताए ।


