सेवापाटी संवाददाता २०८२ श्रावण १८ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं -नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार शुक्रबारदेखि सुरू भएको स्थायी समिति बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । उनका अनुसार शनिबार १८ जना स्थायी समिति सदस्य, ५ पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम निरन्तर चल्ने उनले बताए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको विचारगत अन्तरले नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र पुस्तान्तरणको बहसलाई थप चरम रूप दिएको छ।

माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा नेतृत्वको स्वरूप, संगठनको संरचना र पार्टीको भावी दिशा–निर्देशन बारेको बहस सतहमा आएको छ। माओवादी केन्द्रको नेतृत्व लगभग साढे तीन दशकदेखि अध्यक्ष प्रचण्डले गरिरहेका छन्। यसबीच विभिन्न विभाजन र समायोजन भइसके पनि पार्टीको शिखर नेतृत्वमा परिवर्तन आएको छैन।