सेवापाटी संवाददाता २०८२ श्रावण १६ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं- प्रदेश समिति बैठकमा भाग लिन आएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि हाल उठाइएका मुद्दा राजनीतिक पूर्वाग्रह र प्रतिशोधको उपज भएको दाबी गरेका छन् । नेपालले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने ‘मेरो मुद्दा कुनै भ्रष्टाचारको होइन, विधि प्रक्रिया पूरा भएर भएको निर्णय हो ।
यसले सरकारलाई नोक्सान होइन, फाइदा नै भएको छ ।’ नेपालले पतञ्जलि समूहसँग जोडिएको कार्यक्रमको सन्दर्भमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र झलनाथ खनाललगायत नेताहरूले समेत योग कार्यक्रममा भाग लिएको स्मरण गराउँदै आफूलाई मात्र लक्षित गरी आरोप लगाइनु अनुचित रहेको बताए । उनले निजी जग्गा हदबन्दीभन्दा बढी खरिद गर्न कानुनले नै अधिकार दिएको बताउँदै ऐन, कानुन र संविधानअनुसार नै सर्वसम्मत निर्णय भएको बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीप्रति पनि कडा टिप्पणी गरे । ‘ओलीको दम्भ, अहङ्कार र नीति देशका लागि अभिशाप बनेको छ । जबसम्म केपी ओलीलाई बिदा गरिन्न, देश समृद्ध बन्दैन,’ उनले भने ।


