सेवापाटी संवाददाता २०८२ श्रावण ८ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – एमाले केन्द्रीय कमिटीले मंगलबार मध्यरातमा ‘संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्मअनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने’ तर्कसहित भण्डारीको पुनरागमनमा रोक लगाउने निर्णय गरेको थियो ।

आफूलाई रोक्ने पार्टी निर्णयबारे औपचारिक धारणा सार्वजनिक गरिनसके पनि उनले निकटस्थ नेताहरूलाई आगामी महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने धारणा व्यक्त गरेकी छन् । एमालेले पार्टी राजनीतिमा फर्कन नदिने भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक अभियानलाई अगाडि बढाउने भएकी छन् । पार्टीबाट यसरी रोक लगाउने निर्णय हुन्छ भन्ने अनुमान उनले मंगलबार दिउँसोसम्म पनि गरेकी थिइनन् । उनको सदस्यता नवीकरण एक वर्षअघि नै भइसकेको थियो ।

पार्टीको पछिल्लो निर्णयपछि भण्डारी आन्तरिक परामर्शमा लागेकी छन् । निकट नेताहरूका अनुसार उनी मदन भण्डारी फाउन्डेसनमार्फत जबज केन्द्रित अभियान चलाउने मनस्थितिमा छिन् । ‘म अघि बढिसकें, राजनीतिक अभियान रोकिँदैन । देशव्यापी रूपमा कार्यक्रम बनाएर जानुपर्छ,’ उनले निकटस्थसँग भनेकी छन् । पूर्वराष्ट्रपति भण्डारीकी छोरी एवं फाउन्डेसनकी अध्यक्ष उषाकिरणले आमाको पुनरागमनमा रोक लगाउने पार्टी निर्णयलाई ‘तिकडम’ भनी टिप्पणी गरेकी छन् ।

एमालेले सक्रिय राजनीतिमा आउन रोके पनि भण्डारीको योगदानको उच्च मूल्यांकन गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दाबी गरेका छन् । भण्डारी पक्षमा नेता थापा भने नेतृत्वका लागि अघि सरेका कारण पदीय मर्यादाको विषयलाई बहाना बनाएर पार्टीले निर्णय गरेको टिप्पणी गर्छन् । ‘पदीय मर्यादालाई ध्यान दिएर रोकिएको होइन, उहाँको व्यक्तित्वसँग तर्सिएर निर्णय गरिएको हो,’ उनी भन्छन्, ‘जनताको बहुदलीय जनवादले निषेधको राजनीति मान्दैन । खुला प्रतिस्पर्धा भन्छ । त्यसरी नै उहाँ ९भण्डारी० ले गतिविधि गर्नुहुनेछ ।’