सेवापाटी संवाददाता २०८२ श्रावण १ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – बैंकहरूले बुधबार प्रकाशन गरेको ब्याजदर सूचीअनुसार साउनका लागि २० वाणिज्य बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने १५ वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । तर चार वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छनैन् । एउटा बैंकले भने मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

वाणिज्य बैंकहरूमा साधारण निक्षेपको औसत ब्याजदर अधिकतम ३.९०५ र न्यूनतम २.७७१ प्रतिशत कायम भएको छ । यही असारमा यस्तो ब्याजदर अधिकतम ४.३५३ र न्यूनतम ३.०११ प्रतिशत छ । यसरी निक्षेपको ब्याजदर घटेसँगै बैंक तथा वित्तीय संस्थाको आधार दर पनि घट्ने भएकाले ऋणको ब्याजदर पनि स्वतः घटेको छ । नयाँ ब्याजदरअनुसार साउनका लागि वाणिज्य बैंकहरूमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर अधिकतम ५.६९८ र न्यूनतम ३.६०४ प्रतिशत कायम भएको छ ।

असारमा यस्तो ब्याजदर अधिकतम औसत ५.९४ र न्यूनतम ३.८९१ प्रतिशत छ । यसको मुख्य कारण राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको तल्लो सीमा घटाउनु हो । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले करिडोरको तल्लो सीमा घटाएर २.७५ प्रतिशत कायम गरेको छ ।