सेवापाटी संवाददाता २०८२ असार ४ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं- ललितपुरको ग्वार्कोस्थित मुलुकको पहिलो ओभरपासमा शुक्रबारबाट सवारीसाधन सञ्चालन हुने तयारी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ओभरपासको उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको छ।
गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो। उद्घाटनसँगै ओभरपासबाटै सवारीसाधन सञ्चालन गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।
ओभरपासको मुख्य संरचना निर्माणकार्य पूरा भएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले जानकारी दिए। ०७८ सालबाट ओभरपास निर्माण सुरु गरिएको थियो। मुख्य संरचनाको निर्माण पूरासँगै लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने, ट्राफिक बत्ती जडानलगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको भण्डारीले जानकारी दिए।


