Udhami Gharसेवापाटी सम्वाददाता, २१ पुस २०८१
उद्यमी घरको आयोजनामा देशैभरीका नेपाली उद्यम र उत्पादनको वृहत प्रदर्शनी तथा व्यापार मेला–२०८१ भव्यताका साथ सञ्चालन भईरहेको छ । २०८१ पुस १३ देखी सञ्चालन भईरहेको सो मेलाको समुद्घाटन उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीज्युले गर्नुभएको थियो । मेलामा ६० भन्दा बढी जिल्लाका नेपाली उत्पादनहरु राखिएका छन् ।

नेपाली उत्पादनलाई विश्व वजारमा पुर्याई स्वदेशमै रोजगार एवं स्वरोजगार र उद्यमी बनाउने अभिप्रायले उद्यमी घर सञ्चालन भईरहेको छ । छैठौं तलासम्म फैलिएको उद्यमी घरमा हरेक तलामा फरक फरक सामान र सेवाहरु पाईन्छन् । रैथाने कृषि उत्पादनहरु, काठ तथा बाँसबाट बनेका सामाग्रीहरु, बनपैदावारका उद्यमहरु, अल्लो, हेम्प, ढाका, खादीका कपडाहरु, नेपाली कला, संस्कृति झल्कने सीपहरु, जुत्ता, चप्पल, टोपी, ब्याग तथा पर्सहरु, जडिबुटीजन्य सामाग्रीहरु, क्यानभास हातबाट बनेका आर्टहरु, विभिन्न फ्रेमहरु, उपहारका सामाग्रीहरु, कुश, बाबियो, पटेर, परालबाट बनेका सामाग्रीहरु, सबै जातजातिका पहिरन तथा ड्रेसहरु, नेपाली वाद्यवादनका सामाग्रीहरु लगायत हस्तकलाका विविध सामाग्रीहरु पाईन्छ ।

मौलिक परिकारको शुद्ध शाकाहारी रेष्टुरेन्ट उद्यमी घरको चौथो र पाचौं तलामा रहेको छ । नेपाली रैथाने उत्पादनहरुबाट बनेको खानाको परिकारको स्वाद उद्यमी भान्सा घरमा लिन सकिन्छ । छैठौं तलामा गार्मेन्ट, बुटीक र टेलरिङ सेवा पाउन सकिन्छ । मेला २०८१ पुस १३ देखी २२ गतेसम्म चलेपनि यी सेवाहरु उद्यमी घरले निरन्तर रुपमा प्रदान गरिरहेको र मेला अवलोकनको लागि आयोजकले सबैलाई निमन्त्रणा गर्नुभएको छ ।