काठमाडौं । सैनिक पोशाक तथा नेपाली सेनासँग मिल्दोजुल्दो संरचना र दर्ज्यानी चिह्न प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज गरिएको छ।
भोटेकोशी–त्रिशूली बाढीपछि सैनिकजस्तो पोशाकमा संस्थाका सदस्यहरू उद्धार तथा राहतका गतिविधिमा फिल्डमा देखिएपछि संस्थाको गतिविधि र संरचनामाथि प्रश्न उठेको थियो।
कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा २०७७ साउनमा दर्ता भएको उक्त संस्थाले सामाजिक सेवा तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको थियो।
सैनिक स्रोतका अनुसार संस्थाको दर्ता खारेज भएसँगै यसका गतिविधिमा समेत प्रतिबन्ध लगाइएको छ। यसअघि संस्थालाई हरियो प्यारामिलिटरी पोशाक तथा सैनिक शैलीका दर्ज्यानी चिह्न प्रयोग गर्न अनुमति दिइएको विषयमा समेत विवाद उत्पन्न भएको थियो।
‘ग्रिन आर्मी’को प्रमुख सल्लाहकारमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल रहेको बताइएको छ।


