सेवापाटी संवाददाता २०८२ भदौ १  गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा गर्न भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयलका सहसचिव गेहेन्द्र राजभण्डारी लगायतले स्वागत गरेका थिए।

परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने छ। स्रोतका अनुसार भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लगायतका उच्चपदस्थ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ गते हुने भनिएको भारत भ्रमणको एजेन्डा तय गर्न भारतीय विदेश सचिव काठमाडौं आएका हुन्। भ्रमणले दुई देशबीचको उच्चस्तरीय द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ । मिश्रीसँगको संवादपश्चात प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउस वा बोधगया वा अन्य स्थानमा द्विपक्षीय वार्ता हुने टुंगो लाग्ने छ।