सेवापाटी संवाददाता २०८२ असार  ३२ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ द मिसन वाङ झिनले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा सामग्री हस्तान्तरण गरेका छन । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण सहयोग गरेको छ ।

युनान प्रादेशिक खेलकुद ब्युरोले करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै सदस्य–सचिव घिसिङले २०औं एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले यो समय पेचिलो भएको बताउँदै दृढ संकल्पकासाथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिए ।

उनले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने बताउँदै त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताए । राखेप उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामाग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सदस्यसचिव टंकलाल घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिबद्धता पाएको बताए ।