सेवापाटी संवाददाता २०८२ बैशाख १८ गते
काठमाडौँ — बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले सरकार र शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिलाई अनुमोदन गरेपछि विगत २९ दिनदेखि चलिरहेको शिक्षकहरूको आन्दोलन टुंगिएको छ राति साढे ८ बजे मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि संयुक्त पत्रकार सम्मेलन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सो जानकारी दिनुभएको हो । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायतका शिक्षक नेताहरू र गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा उहाँले सहमतिको लागि प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको योगदानलाई प्रशंसा गर्दै असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारितगर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।शिक्षा समितिका सभापति र दुई पार्टीका प्रमुख सचेतकले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो प्रतिबद्धतापत्रमा हस्ताक्षर भए पछि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा २९ दिन खटेका सबैलाई धन्यवाद दिँदै भन्नुभयो– ‘हाम्रो माग एउटै थियो, शिक्षा ऐन जारी गर्नु यसमा हामी सफल भएका छौँ । अब ऐन ल्याउने मिति तोकिएको छ । असार १५ भित्र ऐन आउनेछ, हामी खबरदारी गर्नेछौँ ।’सरकार र शिक्षक महासंघबीच सहमति पछि आन्दोलन फिर्ता भएसँगै भोली शुक्रवारबाट विद्यालय खुल्ने भएका छन् ।भने आउँदो आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने सुनिश्चित भएको छ ।


