
प्रतिनिधिसभामा निर्वाचित नयाँ सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदलाई पुस ७ गते १ बज सपथ खुवाइने संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्याएको छ ।
ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अन्य सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।
नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव ज्येष्ठ सदस्य भए पनि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले शपथ गराउने सम्भावना छ । उनी ८१ वर्षका छन् । २०७४ सालको प्रतिनिधिसभा सदस्यहरूलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि पुस १० गतेभित्र दाबी पेस गर्न आह्वान गरेकी छन् ।Source :Nepaltop