काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ।

प्रहरीका अनुसार झापाबाट आइतबार काठमाडौं आएका प्रसाईंले विमानस्थलको निषेधित क्षेत्रमा समर्थक तथा सञ्चारकर्मीलाई सम्बोधन गर्ने तयारी गरेका थिए। त्यसपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई नियन्त्रणमा लिई घरसम्म पुर्‍याइएको हो।

प्रसाईंले गणेश नेपालीको मृत्यु प्रकरणलगायत विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने उद्देश्यले विमानस्थलमै कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए। उक्त कार्यक्रमका लागि उनका समर्थक तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू पनि विमानस्थलमा उपस्थित भएका थिए।

प्रहरीले निषेधित क्षेत्रमा कुनै पनि प्रकारका सभा, प्रदर्शन वा सार्वजनिक कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा व्यवस्थाअनुसार आवश्यक कदम चालिएको जनाएको छ।