विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा छलफल भएको छ।
शुक्रबार विराटनगरस्थित कोइराला निवासमा भएको भेटवार्तामा पार्टीको आन्तरिक अवस्था, क्रियाशील सदस्यता अद्यावधिक तथा १५औँ महाधिवेशनको तयारीबारे कुराकानी भएको बताइएको छ। महामन्त्री घिमिरेले पार्टीभित्रको मतभेद कम गर्दै सहमतिका आधारमा अघि बढ्ने उद्देश्यसहित कोइरालासँग भेट गरेका हुन्।
कांग्रेस अहिले १५औँ महाधिवेशनको तयारीमा जुटिरहेको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णय गरेपछि देउवा र कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएका छन्।
यद्यपि, वर्तमान नेतृत्वले अन्तिम पटक असार २० गतेसम्मको समयसीमा तोकेर सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाएको छ। देउवा र कोइराला समूहले छुट्टाछुट्टै भेलाहरू आयोजना गरिरहेका बेला पार्टीका करिब सात लाखभन्दा बढी सदस्यले भने क्रियाशील सदस्यता अद्यावधिक गरिसकेको जनाइएको छ।


