काठमाडौं, २२ कात्तिक । ‘हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर, जेनजी आन्दोलनलाई संस्थागत गर’ भन्ने मुल नारा सहित काठमाडौंको कोटेश्वरमा आज (शनिबार) जेनजीहरुको विशेष भेला सम्पन्न भएको छ ।
निकास र विकासमा असफल देखिएकी सुशिला कार्की नेतृत्वको सरकारलाई तत्काल राजीनामा गरी नयाँ अन्तिरिम सरकार र अन्तिरिम संविधान निर्माण गर्न भेलाले माग गरेको छ । जेनजी आन्दोलनसँग भएको घात (धोखा) बारे देशव्यापी रूपमा शशक्त भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय भेलाले गरेको छ ।
भेलाले जेनजी युवाहरुको हत्यारा निवर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तुरुन्त गिरफ्तार गर्न माग गरेको छ । त्यसका लागि सरकारलाई जनदबाब दिने उदेश्यले वीरगंज, पोखरा, हेटौडा, जनकपुर, नेपालगंज, भैरहवा, कलैया, विराटनगर लगायतका देशैभरीका प्रमुख शहरहरुमा खबरदारी मोटरसाईकल र्याली निकाल्ने निर्णय समेत गरेको छ ।
‘पछिलो समय दृश्य तथा अदृश्य आन्तरिक÷बाह्य शक्ति केन्द्रहरुको नाङ्गो हस्तक्षेप बढ्नु, जेनजी आन्दोलनलाई केहि सिमित व्यक्तिको स्वार्थ पूर्तिमा लागेर आन्दोलनको मूल मर्म एंव सर्वस्वीकार्यताको दायरलाई संकुचित बनाइनु, वर्तमान सरकार सडकबाट प्राप्त जनादेश अनुसार अगाडी बढ्नुको सट्टा पुरानै सोच, सैली एंव रवैयालाई निरन्तरता दिनु, सुशासनका लागि सिस्टम सुधारको क्षेत्रमा कुनै पनि पहल कदमी नदेखिनु, अहिलेसम्म पनि हत्यारा एंव भ्रस्ताचारीहरुलाई कारवाहीको दायरा नल्याउनु, सरकार उल्टै भुइँ मान्छे, गरीब जनता (सुकुम्बासी, करार कर्मचारी, आदि)को विपक्षमा आफ्नो काम कारवाही अगाडी बढाउनु दुखद हो,’ सम्पन्न भेला पश्चात नवनिर्वाचित अध्यक्ष विकेश साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरी, भ्रष्टाचारलाई मलजल गर्ने र विदेशी प्रभावलाई बढावा दिने वर्तमान सिस्टममा सुधार सहित देशमा स्थायित्व र सुशासनका लागि अन्तिरिम संविधान निर्माण गर्नुपर्ने, अबोध युवाहरुको हत्याराहरुलाई कारबाही गर्नुपर्ने, विसं. २०४६ सालपछिको उच्च तहमा काम गरेका सम्पूर्ण शासक प्रशासकको सम्पतिको स्रोत छानबिन गरी दोषीहरुलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनलाई संस्थागत गर्दै यसमा योगदान गर्ने शहिद तथा घाईते भएका परिवारबाट सरकारी रोजगारीको व्यवस्था गर्नुपर्ने जस्ता आधारभुत मागहरूलाई तत्काल पुरा गर्न गराउन सरकारको विशेष ध्यानाकर्षण गराउने निर्णय भेलाले गरेको छ ।
भेलाले जेनजीमाथि भइरहेको अनुचित धरपकड र मुद्दा मामिलाको घटना तत्काल रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै यसको शशक्त प्रतिवाद एवं प्रतिकार गर्ने निर्णय गरेको छ । सचेत, देशभक्त, प्रगतिशिल एवं न्यायप्रेमी जेन जीहरुको एउटा साझा एवं सर्वस्वीकार्य फ्लेटफर्म निर्माणको ऐतिहासिक कार्यभारलाई पुरा गर्न विभिन्न व्यक्ति, समुह र संगठनहरुसंग वार्ता – संवाद, सहकार्य एवं एकताका लागि वार्ता समिति गठन गरिएको छ ।
सम्पन्न सो भेलाले COMMON GEN-Z NEPAL संगठनको अध्यक्षमा विकेश साह, उपाध्यक्षमा राजन साह, उज्जवल शर्मा, विकास झा, सुभाष ठाकुर, महासचिवमा प्रदिप साह, उपमहासचिवमा शाहिल साह, सचिवमा सोनिया पटेल, विकेश यादव, नविन साह र कोषाध्यक्षमा समृद्धि रेग्मीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
संगठनको इन्चार्जमा सिवि साह र सहइन्चार्जमा रविन्द्र यादव रहेका छन् । १ सय १ सदस्यीय केन्द्रीय कमिटीको सदस्यहरुमा चन्द्रिकालाल साह, प्रसुन्ना आचार्य, सतेन्द्र यादव, विनोद केसी, दिपेन सिंह कुवर, किशोर केसी, सुदिप साह, एमडी तौसिल राजा, मुरली साह, राहुल यादव, प्रिन्स साह, बिनोद साह, राजु महतो, नविन साह, सुरेन्द्र कुशवाहा, विकास यादव, विकेश यादव, मनिष यादव, लखिन्द्र साह, दिनेश साह, श्यामबाबु साह, अनिता साह, गजेन्द्र साह, अरविन्द पासवान, बिजय साह, पवन पासवान, रोशनी साह, सागर साह, सनोज गिरी, संजिप पासवान, बिजय सहनी लगायतका रहेका छन् ।


