सेवापाटी संवाददाता २०८२ भदौ ११ गते

राधेश्याम गजुरेल काठमाण्डौं-श्री कृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायको तिर्थधामका रुपमा परिचित श्री सच्चिदानन्द ब्रम्हधाम धुसाल, रामेछाप प्रणामी मन्दिरको ऐतिहाँसिक महत्व रहेको छ । यस क्षेत्रमा धर्म प्रचारको क्रम बि. सं.१८४५ देखि न‌ै भएपनि मन्दिर स्थापनाको बिगत १११ बर्षको पृष्टभूमि देखिन्छ । दैलेखका कृष्ण प्रसाद भण्डारीको बि सं १७३५ हरिद्वार कुम्भमेलामा श्री महामती प्राणनाथजीले बुद्व निष्कलंक कल्की अवतारको उपमा पाई धर्म बिजय भएसँगै नेपालको जागनी कार्य महत्वपूर्ण चरणमा प्रवेश गरेको पाईन्छ ।

सो समय पश्चात् क्रमश नेपालमा तारतम वाणी , अक्षरातित मुलमिलावा परमधाम , राजश्यामको अलौकिक लिला, वितक, बिराट, चर्चनी, सेवा पुजाको शुरुवातीसँगै धर्म जागनी र प्रचार प्रसार कार्य शुरु भएको हो । त्यसको केही समय पश्चात पद्ममावतीपुरीधाम पन्नामा काठमाण्डौ किलागल र नरदेवी निवासी भवानीदाश र रामदाश दाजुभाईले धर्म ग्रहण गरि ऐतिहाँसिक महत्वको स्थान पन्ना धाममा निजी खर्चमा तामाको छाना राखि मन्दिरको शोभा बढाउनुभएको थियो । त्यसपछि उहाँहरुले काठमाण्डौमा रहेको आफ्नो सम्पूर्ण सम्पतिलाई गुठीमा रुपान्तरण गर्द‌ै किलागल र नरदेवीमा स्व निवासमा मन्दिर स्थापना सहित जागनी र धर्मको प्रचार कार्य अघि बढाउनु भएको थियो ।

यहि ईन्द्रचोकमा अबस्थित किलागलको प्रणामी मन्दिरमा बसेर त्यस समयमा घण्टाघर तिनधाराको संस्कृत पाठशालामा दयालदाश महाराज संस्कृत अध्यायन गर्नुभएको थियो । उहाँले प्रणामी धर्म सिद्वान्त हिन्दु सनातन धर्मको पाँचौ वेदको उपमा पाएको स्वासंवेद तारतम सागरको महत्व र ज्ञान बुझाउँदै देशैभर धर्म प्रचारको कार्य अघि बढाउनु भयो । यसै क्रममा रामेछाप जिल्ला पक्रवास क्षेत्रका पिताम्बरदाश ढुंगेलले पनि दयालदाश महाराजबाट प्रणामी धर्म र तारतम मन्त्रबाट दिक्षित हुनुभयो ।

उनै पिताम्वरदाशसँगै धर्म प्रचारमा हिडेको समयमा १९६० को दशकमा दयालदाश महाराजले काभ्रे , सिन्धुली, रामेछाप तर्फका धेरै सुन्दरसाथको जागनी गराउनुभयो । त्यसै समयमा काभ्रेको होक्सेमा बि सं १९४८ मा दयालदाश र पिताम्वर दास महाराजले प्रणामी मन्दिर होक्सेको स्थापना गर्नुभएको थियो । काभ्रेका ढुंखर्क, दाप्चा फुलवारी ,खोपासी पनौती ,बनेपा बजार क्षेत्रका नेवार समुदायमा यहि समयमा धेरै सुन्दरसाथको जागनी भएको पाईन्छ ।

प्रचारकै क्रममा बि सं १९७१ साल फागुनमा दयालदाश महाराजबाट फागु पूर्णिमाको दिन आरती सहित यस धुसाल प्रणामी मन्दिरको स्थापनाका लागि सिल्यान्यास भई १११ बर्षदेखि हालसम्म सेवा पुजा पाठ पारायण मेला चलिआएको छ । यहाँ हरेक बर्ष फागु पूर्णिमाका दिन मन्दिरको बार्षिकोत्सव मनाईन्छ । यसपछि दयालदाश महाराज केही समय यतै पुर्व क्षेत्रतर्फ धर्म प्रचारमा खटिनुभयो । उहाँहरुको पालामा उपत्यकामा भक्तपुरको गुण्डु ललितपुरको ईमाडोल काठमाण्डौको नाङ्लेभारे थली र नुवाकोट लगायत धेरै ठाउँमा क्रमश जागनी कार्य हुँदै गयो ।

दयालदाश महाराजमा एकपटक धर्मको शुरुको बिज उदय भएको स्थान नवतनपुरी पुगेर सद्गुरु गुरुगादी र धर्मको अभ्यूदयको स्थान दर्शन गर्ने ईच्छा आए बमोजिम धुसालबाट‌ै नवतनपुरी यात्राका क्रममा निस्कँदा गह्रौ ढुंगाको चन्दनदानी यहि छाडि उपत्यका हुँदै पश्चिम तर्फ लागेको देखिन्छ । अहिलेसम्म पनि सो पत्थरको चन्दन दानी यस धुसाल मन्दिरमा सुरक्षित छ । सोहि यात्राका क्रममा हिड्दै धर्म जागनी गर्दै पश्चिम तर्फबाट नवतनपुरी जाने क्रममा सातु चामल खाध्यान्न लत्ता कपडा बोकेको थुञ्चे १०० बर्षअघि बर्दियाको कठारपुरमा छाडि यश क्षेत्रका बुद्दिदाश थारुको जगनी गर्दै भारत तर्फ लाग्नुभएको देखिन्छ । यहि पृष्टभूमिको स्मरण गर्दै बारबर्दिया नगरपालिका बर्दियामा धर्म जागनीको १०० बर्ष पूरा र सो मन्दिर स्थापनाको २५ बुर्ष पूरा भएको स्मरण गर्दै गतबर्ष बर्दियामा १२५ पारायण सम्पन्न गरिएको थियो । बर्दियामा धेरै बर्ष सुरक्षित उक्त थुञ्चे सुन्दरसाथको घरमा रहेकोमा आगालागीमा परि बि सं। २०२५ सालमा नष्ट भएको त्यहाँबाट प्रकाशित धर्म जागनी महामहोत्सव २०८१ प्रचारको बुकलेटमा उल्लेख छ ।

दयालदाश महाराज र पिताम्बरदाश महाराजले विभिन्न समयमा जुगलदाश , रमनदाश , कृष्ण प्रसाद दहाल , कमल कृष्ण शर्मा बजगाइँको परिवारको जागनी गर्दै प्रणामी धर्म बिस्तार गर्नुभयो । जुगलदाश महाराजले पिताम्बरदाश ढुङ्गेलबाट तारतम मन्त्र लिएसँगै सक्रिय हुँदा धर्मको प्रचार बढ्दै गयो । नेपालमा जहानीयाँ राणा शासन चलेको उक्त समयमा प्रणामी धर्म र यसको मतको बारे अफवाह फैल्यउन थालियो । यो धर्म के होरु कस्तो धर्म होरु मुस्लिमका पनि कुरा गर्ने रहेछन् भनेर खोजिनिती शुरु भयो । उक्त समयमा रामेछापका पक्रवास क्षेत्रमा धेरै सुन्दरसाथ जागनी भएका थिए । राणाका डिष्ठा बिचारी लगायतका भरद्वारले दरवारसम्म धर्मको बारेमा अलवाह फैलाए । त्यस समयमा पक्वासका सुन्दरसाथलाई धरपकडगरि स्थानीय प्रशासन र समाजले धर्म लिएका निरामिष शाकाहारी सुन्दरसाथलाई मासु कोच्याउने काम गर्यो । सोहि घटनामा ज्यानको आहुति दिन तयार सिन्धुली रातामाटाकी तुलसाबाई चौलागाइँले बरु आफू ज्यान दिन्छु, धर्म त्याग्दिन भनी समाज र बिहे घर नै त्यागेर आफ्नै माईतीले दिएको जग्गा कालिमाटी सिन्धुलीमा मन्दिर बनाई बस्नुभएको थियो । पुरानो बिशेष स्थान कालिमाटी मन्दिरमा गत बर्ष स्थापनाको १०८ बर्ष पुगेको उपलक्ष्यमा पाठ पारायण लगाईएको थियो ।

यसै समय आसपासमा राणाको आदेशमा जुगलदाश महाराजलाई श्री तारतम वाणी स्वरुप साहेव सहित समातेर राणाका भारद्वारहरुको काठमाण्डौ हनुमानढोका ल्याए । त्यहाँ यो मुस्लिम धर्म हो कि भनेर बिभिन्न बिद्वान राखी उहाँ र ग्रन्थकोबारे केरकार गरि स्वरुप साहेव जफत गरियो । तर वाणी प्रमाण सनातन धर्माको रक्षार्थ छत्रशालले भारतका ओैरङ्गजेवलाई परास्त गरेको लगायत हिन्दु पक्षका वृतान्त सुनेपछि राणाहरुले उहाँलाई छाडिदिए । राजधानी आईपुगेका जुगलदाश महाराजले धर्मको प्रचार गर्दै डिल्लिवजारमा दाताबाट प्राप्त जग्गामा मन्दिर स्थापना गर्नुभयो । पछि सोही स्थान सेवा समिति अन्तर्गत ल्याई हाल नयाँ स्वरुपमा सेवापुजा र मन्दिर सञ्चालनरत छ ।

राजधानी केन्द्रित भएर गतिबिधि बढाईरहनु भएको जुगलदाश महाराजले संस्थागत रुपमा बिधिवत तरिकाले तत्कालिन समयमा श्री ५ को सरकारले धार्मिक संस्था दर्ता गर्ने ब्यवस्था गरे अनुसार बि सं २०२३ सालमा श्री कृष्ण प्रणामी सेवा समितिको स्थापना गर्नुभयो । उहाँ नै यस संस्थाको संस्थापक अध्यक्ष हुनुभयो । त्यसपश्चात ललितपुरको पुल्चोक मन्दिरलाई आफ्नो धर्म जागनी थलो बनाई उहाँले सो मन्दिर भएको जग्गा संस्थाको बनाउन संघर्षरत रहँद‌ै बढो कठिनसाथ निजानन्द आश्रम पुल्चोक स्थापना गर्नुभयो । सो मन्दिर स्थापनाका क्रममा निर्माणमा अबरोध आएसँगै युवाहरु संगठित भएर उहाँकै संरक्षकत्वमा बि सं २०४७ साल माघ १८ गते श्री कृ्ण्ण प्रणामी युवा परिषद नेपालको केन्द्रीय दर्ता यसै रामेछाप जिल्लाका युवा कल्याण कुमार कार्कीको अध्यक्षतामा श्री कृष्ण प्रणामी युवा परिषद नेपाल बिधिवत दर्ता भयो । धर्मको जागनीमा रामेछाप जिल्लाको गुरु महाराज सन्त शिरोमणी र सुन्दरसाथको विशेष योगदान छ ।

 

धुसाल मन्दिर सुन्दर हरियाली बाग बगैचाको बिचमा पुरातन शैलीको सुन्दर देखिन्छ । स्थानीय नरबहादुर प्रधानले दिएको जग्गामा उक्त स्थानका अगुवा कृष्ण ब केसी लप्टन साहेवको अग्रसरतामा २०५२ सालमा हालको शैलिको मन्दिर पुन निर्माण भएको हो । मन्दिरको नाममा हाल खेत र वरीपरीको बगैँचा गरि ३६ रोपनी जग्गा रहेको जय प्रकाश प्रधाले बताउनुभयो । यहाँ लगभग ६० घरधुरी सुन्दरसाथको बसोबास रहेको छ । स्थानीय पंडित चंख प्रसाद चौलागाईलाई यहाँ श्रद्वा भावसाथ विभिन्न मेला पर्व तिथि मितिमा आमणत्रण गरि कार्यक्रम गरिदै आएको मन्दिर सञ्चालक समितिका अध्यक्ष कृष्ण चन्द्र श्रेष्टले बताउनुभयो । हाल रायगढबाट तालिमलिई आउनुभएका श्याम गौतमले नियमित सेवापूजा बितक कथा गर्दै आउनुभएक्को छ । तल नजिकै बोहेरेटारमा पनि अर्को मन्दिर र ४५ घरजति सुन्दरसाथ रहेका छन् विभिन्न समयमा प्रणामी धर्मका गुरुजन यहाँ पुग्ने गरेका छन् । सुरेन्द्र महाराजले गत बर्ष साप्ताहिक पाठ पारायण सहित बाल सत्सङको समेत शुरुवाती गराउनुभएको थियो । यस बर्ष खाँडदेवी गाउँपालिका वडा नं २ को कार्यालयले मन्दिर निर्काणकालागि रु ५० लाख निकासा गरेको छ । केन्दिय सेवा समिती नेपालले ऐतिहाँसिक यस मन्दिर बनाउन अपनत्व लिई थप बजेटसमेत जुटाई कार्य सम्पन्न गराउनुपर्ने यहाँका सुन्दरसाथले अपेक्षा गरेका छन् ।