काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।

गत मंगलबारदेखि सुरु भएको बैठक आज बिहान ८ः३० बजेदेखि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिइएको छ ।

बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । बोल्ने क्रम अझै नसकिएकाले बैठक आज पनि जारी रहने बताइएको छ ।

बिहीबारको बैठकले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको थियो । कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

त्यस्तै, होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।