काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।

बुधबार बसेको अर्थ समितिको बैठकले समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले प्रतिवेदन पारित गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

बैठकमा विधेयकसम्बन्धी समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सभापति बुढाथोकीले समितिका सदस्यबाट प्राप्त सुझाव तथा सल्लाहका आधारमा दफावार छलफल गरी सर्वसम्मत निर्णय गरिएको बताए।

उनले विधेयकलाई सर्वसम्मत ढंगले अघि बढाउनुपर्ने विषयमा समितिका सबै सदस्यको सकारात्मक धारणा रहेको उल्लेख गरे। समितिका बैठकबाट भएका निर्णयका आधारमा नै प्रतिवेदन तयार पारिएको भन्दै उनले निर्णयबाहेक अन्य विषयवस्तु प्रतिवेदनमा समावेश भए–नभएको जाँच गर्न बैठक केन्द्रित रहेको बताए।

सभापति बुढाथोकीले समितिका सदस्यले आवश्यक ठानेमा थप सुझाव तथा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सक्ने व्यवस्था रहेको पनि जानकारी दिए।

नेपाल राष्ट्र बैंक ऐन संशोधनको प्रक्रियाले मुलुकको आर्थिक विकासमा संरचनागत परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै उनले विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयन तथा नेतृत्वबाट हुने कार्यसम्पादनसँग सम्बन्धित विषयमा समितिमा महत्वपूर्ण छलफल भएको बताए।