इलाम । लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा हलुका सवारीसाधनलाई सञ्चालन अनुमति दिएको हो। लगातारको वर्षाका कारण सडक भासिएपछि गत असार २५ गतेदेखि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
असार २९ गतेसम्म सडक थप भासिएपछि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको थियो। सडक अवरुद्ध हुँदा इलामसँगै पाँचथर र ताप्लेजुङको झापा तथा तराईका जिल्लासँगको नियमित यातायात सम्पर्क प्रभावित भएको थियो।
मुख्य राजमार्ग लामो समय बन्द हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीको आवतजावत, यात्रु तथा व्यवसायीसमेत प्रभावित भएका थिए।
करिब ५१ दिनदेखि बन्द रहेको सडकखण्ड सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय इलामको प्राविधिक टोलीले सडक मर्मत तथा सवारी सञ्चालनयोग्य बनाउने काम गरेको हो।
सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार सडकको अवस्था र जोखिमलाई ध्यानमा राख्दै हाललाई साना तथा हलुका सवारीसाधन मात्र सञ्चालनमा ल्याइएको छ। सडकको थप मर्मत तथा जोखिम न्यूनीकरणको काम जारी रहेको उनले बताए।
माइखोला–राजदुवाली सडकखण्ड वर्षायाममा पटक–पटक भासिने समस्याबाट प्रभावित हुँदै आएको छ। यसपटक पनि लगातारको वर्षाका कारण सडक भासिएपछि लामो समयसम्म राजमार्ग अवरुद्ध भएको हो।
सडक सञ्चालनमा आएसँगै लामो समयदेखि यातायात अवरोधका कारण सास्ती खेपिरहेका इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा स्थानीयवासीलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।


