हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापामगरले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २६, नेकपा एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभामा १०४ सदस्य कायम छन्।


