काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली भिड्न लागेका हुन् ।

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।