काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् ।

टिमको कुरा गर्दा काठमाडौँ करण केसीको कप्तानीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी सहित यो सिजन खेल्दैछ ।

त्यस्तै दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा आठ टोली सहभागी छन् ।