काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ ।

नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र यूएई हालसम्म टी-२०आई मा १० पटक आमनेसामने भएका छन् जहाँ दुवैले ५-५ खेल जितेका छन् । पछिल्लोपटक एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो ।

नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ । यूएई र नेपाल दुवै पछिल्लो समय राम्रो लयमा छन् र टेस्ट राष्ट्रलाई हराइसकेका छन् । त्यसकारण दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।